प्रकाशित मिति : २०१९-०९-१७ (अद्यावधिक मित : २०२१-०२-२३)

नेपालमा पशुपंक्षीमा लाग्ने विभिन्न रोगहरुका कारण पशु उत्पादन, जन स्वास्थ्य र पशु तथा पशुजन्य पदार्थको व्यापारमा प्रतिकूल असर परिरहेको छ भने पशु रोग नियन्त्रण र उन्मुलनका लागि गुणस्तरीय र विश्वसनिय खोपहरुको स्वदेशमै उत्पादन व्यवस्था हुनु पर्ने आवश्यकता छ। प्रारम्भमा गौंगोटी रोगको नियन्त्रण र उन्मुलनको सिलसिलामा सन् १९६३ मा रोग निदान प्रयोगशालाको स्थापना भयो जसको मुख्य लक्ष्य पशुपंक्षिहरुको रोग पहिचान गर्नु र गौंगोटि रोग उन्मुलनको लागि बाख्राको टिष्युबाट भ्याक्सीन उत्पादन गर्नु थियो।सन् १९६७ बाट यस प्रयोगशालाले एच.एस. भ्याक्सीन साथै सन् १९६८ बाट रानीखेत र फावल पक्स भ्याक्सीन उत्पादन सुरु गर्यो।सन् १९७१ मा यस प्रयोगशालालाई भिन्न प्रयोगशालाको रुपमा विकास गरी जैविकी उत्पादन प्रयोगशालाको रुपमा स्थापित गरियो।

 

सुरुमा यस जैविकी उत्पादन प्रयोगशालाले थोरै मात्रामा भ्याक्सीन उत्पादन गर्थ्यो भने सन् १९८५ पछि पहिलो पशु विकास आयोजनाको सहयोगमा मेशीन र उपकरणहरु थप गरिएपछि उत्पादन बढ्दै गयो। कुखुराको भ्याक्सीनहरु सुरुमा लोकल अण्डाबाट बनाउने गरिन्थ्यो भने सन् १९९७ पछि एस.भि.एस.एल.डि.सि. आयोजनाको आर्थिक सहयोगमा एस.पि.एफ. अण्डाबाट बनाउन थालियो । सन् १९९५ मा पि.पि.आर. रोग नेपालमा देखा परेपछि सो रोग नियन्त्रणको लागि सन् २००० मा यस प्रयोगशालामा एस.भि.एस.एल.डि.सि. आयोजनाको प्राविधिक र आर्थिक सहयोगमा टिष्यु कल्चर युनिटको स्थापना भएपछि पि.पि.आर. रोग बिरुद्धको होमोलोगस टिष्यु कल्चर भ्याक्सीन उत्पादन सुरु गरेर नेपाल दक्षिण एसियामा पि.पि.आर. रोग बिरुद्धको भ्याक्सीन बनाउने पहिलो देश बन्यो । अहिले यस प्रयोगशालाले महामारीको बेलामा लगाउने पि.पि.आर. हाइपरईम्युन सिरा पनि उत्पादन गर्दछ ।सन् २००६ बाट यस प्रयोगशालाले एच.एस. एरोसोल भ्याक्सीम उत्पादन र सन् २००८ बाट रानीखेत आई.टु भ्याक्सीन उत्पादन सुरु गर्यो।सुरुमा यस प्रयोगशालाबाट उत्पादन हुने भ्याक्सीनहरु निशुल्क वितरण गरिन्थ्यो भने सन् १९८९ पछि केही भ्याक्सीनहरु बाहेक अरु सम्पुर्ण भ्याक्सीनहरु न्युनतम मुल्य लिई वितरण गर्न थालियो । हाल यस प्रयोगशालाले नेपालमा पि.पि.आर, स्वाईन फिवर, एच.एस., बि.क्यु र रानीखेत रोग बिरुद्धको भ्याक्सीनहरु स:शुल्क र राष्ट्रिय रोग नियन्त्रण कार्यक्रमको लागि निशुल्क उपलब्ध गराईरहेको छ।

 

यस प्रयोगशाला नेपालमा पशुपंक्षीको खोप उत्पादन गर्ने एक मात्र प्रयोगशाला हो जसले गौगोटी रोग उन्मुलन गर्न र अन्य बिभिन्न पशुपंक्षीका रोगहरु नियन्त्रणमा महत्वपुर्ण भुमिका खेलेको पाइन्छ। यस प्रयोगशालाले विश्व पशु स्वास्थ्य संगठनको मापदण्ड, निर्देशिका र सुझाव अनुरुप राष्ट्रिय स्तरमा पशुपंक्षीका खोपहरु समय सापेक्ष रुपमा गुणस्तरीय उत्पादन गर्दै आइरहेको छ । सिमित श्रोत, साधन र जनशक्ति भएको हालको स्थितिमा केन्द्रिकित रुपमा पशुपंक्षीका भ्याक्सीन तथा जैविकी पदार्थको उत्पादन र विकासका लागि राष्ट्रिय निकायको रुपमा काम गर्ने र तत् सम्बन्धी सम्पुर्ण जिम्मेवारी बहन गर्ने यस प्रयोगशालाको उद्देश्य रहेको छ